प्रधानमन्त्री पत्नी राधिका भन्छिन्- उहाँको शरीर कहाँ सग्लो छ र!

प्रधानमन्त्री पत्नी राधिका भन्छिन्- उहाँको शरीर कहाँ सग्लो छ र!

प्रधानमन्त्री पत्नी राधिका भन्छिन्- उहाँको शरीर कहाँ सग्लो छ र!

प्रधानमन्त्री पत्नी राधिका शाक्यसँग बुधवार बेलुकी ६ बजेपछि बालुवाटारमा भेट्न समय लिएको थिएँ। पाँच बजेपछि सिमसिम पानी पर्न थाल्यो। बालुवाटारको दुई नम्बर गेटमा पुगुञ्जेल मैले लगाएका कपडा छिपछिप भिजेका थिए। दोस्रो गेट नाघ्ने बेलासम्म पानी दर्किन सुरु भइसकेको थियो। त्यहाँ सुरक्षा जाँच पार गरेर प्रधानमन्त्री निवासको दोस्रो तला पुगुञ्जेल मैले शरीरभित्रै पानीले छोएको अनुभव गरिसकेको थिएँ।

राधिका शाक्य धर्के कलेजी रंगको सोफामा दक्षिण फर्केर मलाई कुरिरहेकी थिइन्।

‘भिज्नु भएछ,’ उनले पहिलो शब्द बोलिन्।

मलाई राधिका शाक्यसँग राजनीतिक संवाद गर्नु थिएन। दुईतिहाइ बहुमत भएको प्रधानमन्त्रीबारे तर्क/बितर्क समेटिएका प्रश्न राख्नु थिएन। बाहिर देखिने विरोध र समर्थनको विषयमा पनि कुनै प्रश्न सोध्नु थिएन।

प्रधानमन्त्री केपी ओलीसँगको सम्बन्ध एकछिनलाई टाढा राख्ने हो भने उनी सामान्य महिला हुन्। देश चलाउने काममा व्यस्त बिरामी पतिलाई उनी दैनिक कसरी स्याहार्छिन्? काठमाडौंमा जन्मिएकी नेवारकी छोरीले देशमा कस्तो परिवर्तन देख्न चाहन्छ? राजनीति र प्रशासनलाई तीसौं वर्षदेखि नजिकबाट नियालेकी उनले राजनीति र प्रशासनभित्र लुकेको स्वार्थ कसरी बुझ्छिन्? सामान्य महिलाका रुपमा बालुवाटारबाट बाहिर हेर्दा के महशुस हुन्छ?

मैले उनीसँग यिनै विषयमा संवाद गर्न खोजेको थिएँ।

फोटो खिच्ने अनुमतिलगत्तै मैले दोस्रो अनुमति मागेँ, ‘सम्झिनलाई सजिलो हुन्छ। म फोनमा रेकर्ड गरौँ।’

बाहिर कमै बोल्न रुचाउने शाक्यले सहमति जनाइन्।

उनी बिहान पाँच बजे उठ्छिन्। केही वर्षयता सुगरको समस्या देखिएको छ। डाक्टरले बिहानै हिँड्न भनेका छन्। मन अघाउन्जेल सुत्ने इच्छा मारेर लम्किन थालेकी छन्।

ओली सबेरै भेटघाटमा व्यस्त हुन्छन्। पति भेटघाटमा रहेका बेला उनलाई घुप्लुक्क सुतिरहन मन लाग्दैन। ओलीलाई दिनमा छचोटि औषधि खुवाउनुपर्छ। बिहान छ बजे खाली पेट औषधि दिनुपर्छ। त्यसपछि दुई टुक्रा पाउरोटी र अर्को औषधि खुवाउनुपर्छ। मिर्गौला प्रत्यारोणपछि ओलीको शरीर कमजोर छ। औषधि खाइरहनुपर्ने हुँदा बेलाबेला खानेकुरा खाइरहनुपर्छ। यी सबै जिम्मा शाक्यकै हो।

‘शरीर कहाँ सग्लो छ र,’ उनले भनिन्, ‘मैले हेरिनँ भने त उहाँ ढली हाल्नुहुन्छ।’

बालुवाटार सरेपछि पनि उनी दुई जनाको खाना आफैं पकाउँछिन्। ओली जहाँ भए पनि खाना खान सकभर बालुवाटारै पुग्छन्। पहिले त हटकेसमा खाना बोकेर ओली जहाँ छन्, त्यहीँ पुग्थिन्। अचेल गलिन्। सक्दिनन्। सुगर भएदेखि बिहानको खाना पनि कुर्न छाडेकी छन्। ओली नआउञ्जेल उनलाई छटपटी भने भइरहन्छ।

पकाउन मात्र होइन, भान्छाको सरसामान किन्न आफैं कुद्छिन्। तरकारी किन्न नक्साल, भाटभटेनी जान्छिन्। ओलीका लागि कपडा छान्ने, आफ्ना लागि कुर्ता सुरुवाल छान्न पनि आफैं हिड्छिन्।

‘मेरा लागि यति गरिदेऊ भनेर आजसम्म कसैलाइ अह्राएकै छैन। शरीर चलुञ्जेल कसैलाई अह्राउन पनि नपरोस्,’ उनले भनिन्, ‘यस्तो गर्दा नि कुरा काट्नेहरु पचासथरी कुरा काट्छन, दिक्दार लागेर आउँछ।’

पावरवाला चस्माभित्र उनका आँखा थोरै रसाए।

बालुवाटारमा उनको अर्को नियमित काम कपडा आइरन गर्ने हो। मिर्गौला प्रत्यारोपणपछिका दुई वर्ष ओलीले ओड्ने सिरकको खोल, ओछ्याउने तन्नादेखि लगाउने सबै लुगा धोएर आइरन गर्नु पर्थ्यो। अहिले लगाउने कपडा मात्र आइरन लगाएर राख्छिन्।

 

‘मैले जुन लुगा आइरन लगाएर ठिक्क पारेँ, उहाँले त्यही लगाउने हो,’ उनी मुसुक्क हाँसिन्, ‘कोट भने मलाई छान्न आउँदैन। उहाँ ‌आफैं छान्नु हुन्छ।’

बेलुकी ओली ६ बजे घर आइपुगे अन्डा-चिउरा तयार पार्छिन्। भेटघाटमा आउनेहरुसँगै बसेर खाजा खान्छन्। त्यसपछि दुई जनाका लागि बेलुकीको खाना तयारी गर्छिन्। ‘उहाँको शरीर दुईवटा पाउरोटीको टुक्रा, तीन गाँस भात र अन्डा-चिउराले धानेको छ,’ उनले भनिन्।

रोगले ज्यान खाइसक्दा पनि ओलीको आँत दह्रो छ। शरीरले साथ दिएन भन्दैमा भेटघाट र व्यस्तता घटाएका छैनन्। भेटघाटको समय कहिले रातको १ बजेसम्म तन्किन्छ। भेटघाट जति लम्बियो, खाना खाने समय उति तन्कियो। बाह्र बजेसम्म त राधिका धैर्य गरेरै बस्छिन्। बाह्र कटेपछि उनलाई असह्य हुन्छ। बैठक कक्षमै खाना लगेर राखिदिन्छिन्।

त्यसपछि उनलाई चिन्ता लाग्छ, भेटघाट निम्ति नेताहरुलाई बोकेर ल्याउने ड्राइभर र सुरक्षा अधिकारीहरुको।

‘बिहान भए त बाहिर निस्किएर केही खाँदा हुन्। मध्यरात के खाने?’

बाल्कोटमा हुँदा यसरी अबेरसम्म कुर्ने सुरक्षाकर्मी र ड्राइभरलाई उनी आफैं पकाएर खुवाउँथिन्। स्थायी समिति बैठक हुँदा सय जना सम्मलाई पकाएर खुवाएकी छन्। बालुवाटारमा त्यसो गर्न नसकेकोमा उनलाई दु:ख लाग्छ।

समाचारका लागि दिनभरी क्यामर बोकेर भोकभोकै बालुवाटारमा कुरेर बस्ने पत्रकारहरुको पनि माया लाग्ने उनी बताउँछिन्।

‘त्यत्रो मिहिनेतपछि पनि जब बालुवाटारमा हुँदै नभएको घटना अर्को दिन समाचारका रुपमा आउँछ, मलाई दिक्क लाग्छ,’ उनले भनिन्, ‘हिजो अस्ति मात्र के जाति पत्रिकाले ‘‍ओलीले मेयरलाई बालुवाटारमै डाकेर हप्काए’ भन्ने समाचार छापेछ। न मेयर बालुवाटार आएका थिए, न उहाँले हप्काउनुभएको थियो। त्यति धेरै दु:ख गरेर, भोकभोकै कुरेर पनि पत्रकारहरुले किन साँचो खबर लेख्न नसकेका होलान् भन्ने सम्झँदा दु:ख लाग्छ।’

पछिल्लो समय सडक सास्ती र प्रदूषणले सञ्चार माध्यमहरुमा प्राथमिकता पाएका छन्। राधिका आफैं पनि यसका भुक्तमान हुन्। हिलोमा उनी आफैं पनि डुबेकी छन्। काठमाडौंको अतेसलाग्दो ट्राफिक जाममा आफैं पनि अड्किएकी छन्। बाटो सफा गर्नु पर्यो, राम्रो बनाउनु पर्यो, प्रदूषण नियन्त्रण गर्न केही न केही उपाय लाउनु पर्यो भने उनी ओलीलाई हरेक बिहान सुनाउँछिन्।

‘उहाँ आफैं पनि यसमा गम्भीर हुनुहुन्छ। बाटो सफा गर्नु पर्यो, फोहोर र ट्राफिक व्यवस्थापन गर्नु पर्यो भनेर प्राय: हरेक दिन निर्देशन दिएको सुन्छु। त्यसको समाचार कसैले बनाउँदैनन्। निर्देशन पाउनेहरुले पनि खै किन सुन्दैनन्, मैले पनि बुझ्न सकेकी छैन,’ उनले भनिन्, ‘दिउँसो दीगो विकासका लागि रेल चाहिन्छ, पानीजहाज चाहिन्छ भनेर भाषण गर्दा मिडियाले हेडलाइन बनाउँछन्, उछित्तो काढ्छन्।’

राधिकालाई खट्किने अर्को कुरा पनि छ।

ओलीलाई दैनिक सयौं मान्छे भेट्न आउँछन्। ती अधिकांशका आँखामा केही न केही स्वार्थ लुकेको देख्छिन् उनी।

 

‘तीसौं वर्ष कर्मचारी भएर सेवा गरेँ। को कस्तो व्यक्तिगत स्वार्थ बोकेर बालुवाटार छिर्छन् भन्ने म पनि बुझ्छु। उनीहरु आफ्नो स्वार्थसँग तालमेल मिलेन भने बाहिर निस्केर हल्ला मच्चाउँछन्- ओली खराब मान्छे हुन्,’ राधिकाले भनिन्, ‘उहाँले केका लागि र कसका लागि खराब काम गर्ने?’

‘हामीले केपी ओलीका नाममा पैसा दियौं भन्ने कति मान्छे भेटिन्छन्। यही कुराले मलाई सबभन्दा बढी पिरोल्छ,’ उनले थपिन्, ‘हाम्रो नाममा कसैले पैसा माग्यो भने हामीलाई भन्दिनुस् है भन्छु। उहाँले त ‘कसले पैसा माग्यो?’ भनेर हकार्नु हुन्छ। तिनैमध्ये कति मान्छे बाहिर निस्केर पैसाकै मामलामा ओलीले हपार्यो भनेर अपवाह फैलाउँछन्।’

बहुदल आउनुअिघसम्म सुरक्षा अधिकारीहरुप्रति उनी त्यति सकारात्मक थिइनन्। ओली गृहमन्त्री भएका बेला सिपाहीको दैनिकी र दु:खले उनलाई चसक्क पार्यो। त्यसयता उनी कसैसँग निकट छिन् भने ड्राइभर र सुरक्षा अधिकारीहरुसँग।

गएको साता मात्र उनका ड्राइभर दीपक श्रेष्ठले छोरीको पास्नीमा भक्तपुर निम्ता गरे। उनी गइन्। सानो कोठा। एउटा कुनामा ग्यासचुह्लो। अर्को कुनामा सुत्ने खाट। ‘हामीलाई सुरक्षा दिने, रातबिरात नभनी बोकेर हिँडने ड्राइभर भाइहरुको जिन्दगी यसरी बितेको छ। यी भाइहरुको जति माया मलाई कसैको लाग्दैन,’ उनले भनिन्, ‘मैलेजस्तै उनका परिवारले पनि बेलुकीको खाना कुरिराखेका होलान् जस्तो लाग्छ। समयमा खान आइदिए हुन्थ्यो भन्ठान्दा हुन् जस्तो लाग्छ।’

अचेल ओलीसँग दोहोरो कुराकानी गर्ने समय उनीसँग धेरै हुँदैन। दिनभरी थाकेको शरीरमा गुनासो थुपारेर झन् गाल्न उनलाई मन लाग्दैन। तै कहिलेकाहीँ ‘ती भाइहरु समयमा घर जान पाउँदैनन्। उनीहरुका बारेमा सोच्न पर्दैन?’ भनेर गुनासो गर्छिन्।

अनि थप्छिन्, ‘के तपाईं गाली खान मात्र बालुवाटार आउनुभएको हो?’

त्यो बेला ओली सम्झाउँछन्, ‘यस्तो छियाछिया भएको शरीर बोकेर हिँडेको छु। कतिखेर ढल्छु थाहा छैन। गाली गर्नु भनेको छिटो काम गर भनेको हो। गाली सुनेर भाग्न भएन।’

तीसौं वर्ष ओलीको ‘टेको’ भएर राजनीति बुझेकी राधिका ओलीको जवाफ सुनाउँदै मुस्कुराउँछिन्।

Source:setopati

Please follow and like us:

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account