छोरीलाई किन छोरा सम्झने?

छोरीलाई किन छोरा सम्झने?

छोरीलाई किन छोरा सम्झने?

केही दिनअघि घरमा आएकी एक आफन्तले मेरी छोरीलाई केहीबेर काखमा लिइन्, चुप्पा खाइन् र अन्तिममा मलाई दिँदै भनिन्, ‘किन चिन्ता गरेकी नि, यो छोरी होइन, छोरो हो छोरो,  छोरा र छोरी उस्तै त हो नि।’

केही बेरअघि मेरो छोरीलाई माया गरेको देखेर मख्ख परेकी मलाई उनको यो भनाईले अचानक  झनक्क रिस उठ्यो, जवाफ पनि आइसकेको थियो मुखमा तर उत्तर दिन ठिक लागेन। चुप लागेर बसेँ।

मलाई उनले मात्र होइन, धेरैले बेला बेला यस्तो भन्ने गरेका छन्। जुन मलाई फिटिक्कै मन पर्दैन। ए बाबा मेरो छोरी किन छोरा जस्तो हुनुपर्‍यो?, अनि अझ मलाई चिन्ता नगर रे, हे प्रभु छोरी जन्माएकोमा आफूलाई अहिलेसम्मकै भाग्यमानी महशुस गर्ने मैले किन चिन्ता गर्नुपर्ने? मलाई मेरी छोरीलाई छोरा सम्झिएर होइन छोरी सम्झिएर, छोरीकै लुगा लगाएर, छोरी बनाएर, छोरी जस्तै गरी हुर्काएर नै छोरा सरहको बराबरी बनाउनुछ।

हाम्रो समाज अनि हामी महिलाहरू बढो अचम्मका छौं। एकातिर हामी दिनभर लैङ्गिक समानताका कुरा गर्छौ, यसमा काम गर्छौ, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ अनि मात्र लैङ्गिक विभेद हट्छ भन्छौँ तर जब घर पुग्छौँ अनि सबै बिर्सन्छौँ र पुनः समाजले महिला भएकै कारणले छुट्याइदिएको काम गर्छौ।

एकपटक सम्झनुहोस् त, तपाईँको घरमा छोरा जन्मँदा भएको परिवारको रियाक्सन र छोरी जन्मँदाको रियाक्सन… अरूको किन, तपाईँ आफैँले कस्तो अनुभव गर्नुभयो, एकपटक टक्क आँखा चिम्लेर सम्झनुहोस् त? तपाईँको अनुभवले नै तपाईँलाई तपाईँले महिला र पुरुषबिच गर्ने समानता वा भिन्नताबारे उत्तर दिन्छ। ठूलो स्वरमा म पुरूष र महिलामा भिन्नता गर्दिनँ भनेर तर्क र दाबी त गर्नुहोला तर, तपाईँ स्वयम्ले गरेको अनुभव नै तपाईँको सोच हो। हो यही भिन्नता देख्ने सोच बदल्नुछ। यो सोच नबदलिएसम्म हाम्रो जस्तो मुलुकमा जहाँको नेतृत्वले कानुनमा उल्लेख भएका कुरालाई त मतलब नगरी महिलालाई वेवास्ता गर्छ, परिवर्तन हुन गाह्रो छ।

तर सबैको सोच महिला र पुरूष बिच भेदभाव गर्ने खालको मात्र हुन्छ भन्न भने खोजिएको होइन र घर गएर समानताको नाममा श्रीमानसँग, बुवासँग, दाजुभाई सँग झगडा गर्नुहोस् भन्न खोजिएको पनि होइन।

तपाईँ हामी मध्ये नै धेरैले प्रकृतिले महिला र पुरुषबिच भिन्नता नगरेको कुरालाई तन, मनले स्वीकार पनि गरिसकेका छौँ। यदि तपाईँको दिमागले  यी दुई बिच भिन्नता सोच्दैन भने तपाईँको माइन्डसेट परिवर्तन भइसकेको छ अब आइन्दा तपाईँले कहिले पनि महिला र पुरुष भनेर भेदभाव गर्नुहुने छैन। तर, ठिक बिपरित तपाईँलाई आफ्नो घरमा छोरा बच्चा जन्मँदा हर्ष र छोरी बच्चा जन्मिँदा अलिकति भए पनि खिन्नता महशुस हुन्छ वा भएको छ भने तपार्इँ अझै लैंगिक समानताको विपक्षमा हुनुहुन्छ। तपाईँको माइन्सेट परिवर्तन भएको छैन। हो, भन्न खोजेको यति हो, यही माइन्डसेट बदल्नुपर्छ।

यो माइन्डसेट परिवर्तन नभएसम्म अर्थात दिमागले नै महिला र पुरुष बिचको समानतालाई नअपनाएसम्म लैंङ्गिक समानता हुनै सक्दैन, कुनै हालतमा अझै कयौँ वर्ष हुनसक्दैन ।

यो माइन्डसेट परिवर्तन कसरी गर्ने त? संविधान र कानुनमा उल्लेख गरिएका महिला अधिकार, पैत्रिक सम्पत्ति लगायतका अधिकार र लैङ्गिक समानताका कुरालाई कसरी व्यवहारमा लागू गर्ने र गराउने? के संविधान तथा कानुनमा लेख्दैमा अधिकार पाइन्छ त? यसको उत्तर हो, जति वटा कानुन आए पनि, संविधानमा लेखिए पनि जबसम्म व्यवहारिक रुपमा कार्यान्वयन गर्न सकिदैन तबसम्म उपलब्धीबारे जति चिच्याए, कराए, टाउकै बजारे पनि केही फरक पर्दैन, अधिकार पाइँदैन।

अब गर्ने के त? लामो समयको महिला आन्दोलन पश्चात महिलाले हाँसिल गरेका कानुनी उपलब्धीलाई व्यवहारिक रुपमा लागू गर्न र महिला र पुरुषबिचको भेदभाव गर्ने माइन्डसेट परिवर्तन गर्नका लागि अर्को एड्भोकेसी चलाउनुपर्छ।

त्यसका लागि छोरा र छोरी बच्चा जन्मिँदा हुने अनुभवदेखि नै परिवर्तन हुन आवश्यक छ। तपाईँले गरेको अनुभव भोलि तपाईँका बच्चाले अर्थात भावी पुस्ताले नगरून्। तपाईँलाई छोरी बच्चा जन्मँदा अलिकति नै भए पनि लागेको खिन्नता भोलि तपाईँको छोरा वा छोरीलाई कति पनि नलागोस्। यो तहसम्म काम गर्नु आवश्यक छ।

जबसम्म घरको डाइनिङ टेबल, विद्यालयको डेक्सबेन्च र खेलमैदानमा छोरा र छोरी बिच भेदभाव हुन्छ, तबसम्म कानुनी रुपमा जतिनै समानता, समता र अधिकार पाए पनि त्यसको अनुभूति आउँदो कयौँ पुस्ताले गर्न पाउने छैन।

अतः सबैभन्दा पहिला घरको डाइनिङ टेबलमा भात खाँदा पहिले घरका पुरूषलाई खुवाउने तथा बासी भात महिलाले खाने जस्ता प्रवृतिको अन्त्य गर्नुहोस्, सबै सगैँ बसेर खाने गर्नुहोस् अनि तपाईँको बच्चाले त्यही कुरा तपाईँबाट सिक्छ।

गुरूज्यूहरू विद्यालयको डेक्सबेन्चमा आफ्ना विद्यार्थीलाई व्यवहार गर्दा छात्र र छात्रा दुबैलाई एकै किसिमको व्यवहार र अवसर दिनुहोस्। फुटबल टिममा छात्र मात्र छान्ने, भलिबल टिममा छात्रा मात्र छान्ने, दौडने, उफ्रिने कुरामा केटा विद्यार्थी अनि अलि सजिलो हुने खालको खेलमा केटी विद्यार्थी छान्ने परिपाटी बन्द गर्नुहोस्।

खेलमैदानमा पनि अलि अफ्ट्यारो, बल पर्ने खेल केटाको लागि अनि सजिलो खेल केटीको लागि भन्ने मानसिकता पहिले आफूबाट हटाउनुहोस् अनि आफ्ना विद्यार्थीलाई पनि त्यही सिकाउनुहोस्।

आफ्ना छोराछोरी घरमा र आफ्ना विद्यार्थीलाई स्कूलमा मलाई छोरी भएकै कारणले मेरो आमाबाले र शिक्षकले भेदभाव गर्छन् र म छोरा भएकै कारण म मेरो दिदी बहिनीभन्दा र मेरा अन्य केटी साथीभन्दा बढी स्वतन्त्र छु, बलियो छु भन्ने दुबै खालको अनुभूति हुन नदिनुहोस्।

अनि मात्र कमसेकम यो पुस्तालाई बारम्बार सम्झाइराख्नुपर्ने कुरा भोलिको पुस्ताले आफैं महशुस गर्नेछन्। अहिलेको बच्चाले सिक्ने पहिला घरबाट र दोस्रो विद्यालयबाट, अतः यी दुबै स्थानमा भेदभाव नामको शब्द नै उच्चारण नगर्ने हो भने पक्कै भोलिको पुस्ताको माइन्डसेट परिवर्तन हुनेछ र महिला र पुरुषबीच समानता कायम हुनेछ।

अहिलेजस्तो महिला समानताका लागि कसैसँग वकालत गर्नुपर्ने अवस्थाको अन्त्य हुनेछ। आउनुहोस् आजै, अहिल्यै प्रण गर्नुहोस्, छोरालाई फुटबल खेल्न पठाउनुहुन्छ भने छोरीलाई पनि पठाउनुहोस्, छोरीलाई खाना बनाउन सिकाउनुहुन्छ भने छोरालाई पनि खाना बनाउन सिकाउनुहोस्। किनकी, तपाईँले आज आफ्ना छोराछोरीलाई गर्ने व्यवहार र सिकाएका कुरा नै उनीहरुको भोलिको माइन्डसेट हो।

आज सिकाउनुभएन भने तपाईँ हामीले लडिरहेको समानताको लडाईँ तपाईँका छोरीहरुले पनि अझै कयौँ पुस्तासम्म लड्नुपर्नेछ।

Source:setopati

Please follow and like us:

admin

Related Posts

leave a comment

Create Account



Log In Your Account