लघुकथाः अन्तिम पत्र

लघुकथाः अन्तिम पत्र

लघुकथाः अन्तिम पत्र

अचेल सपनीमा पनि आउन छोड्यौ तिमी । सायद कसैको सपना बनेर बाचिरहेकी छौ कि ? वा कसैलाई सपना देखाएर ? थाहा थिएन, मलाई टाढा गएपछि सबै कुरा टाढिन्छन् भन्ने । तिम्रो मन यति कठोर होला भन्ने मैले सोचेको नै थिइनँ । तर के गर्नु अक्सर जिन्दगीमा नसोचेको भइदिन्छ । नचाहेको भइदिन्छ । चाहनु मेरो भुल थियो । आफ्नो सम्झनु मेरो भ्रम थियो । म केवल भ्रमहरूमा बाँचिरहे । बाँच्नु त के थियो र जिन्दगी । मात्र बाँचेजस्तो गरिरहेँ ।

मन बहलाउन म अक्सर पिउने गर्छु । बानी परिसक्यो । म अतितलाई भुल्न पिउँछु तर अतितले मलाई भुल्न दिँदैन । विद्रोह सुरु हुन्छ अतितका सम्झनाहरूसँग । पिउँदा पिउँदै तिम्रा यादहरू मदहोशी बनेर आइदिन्छन् । अनि हाँस्छु आफ्नो विवशता देखेर । थाहा हुन्छ, हाँस्दाहाँस्दै पनि आँशुहरू छचल्किने रहेछ । म भुल्न चाहन्छु तिमीलाई तर म आफ्नो मनलाई कसरी धोका दिन सक्छु ? म आफै हारिदिन्छु अनि चोटहरूको बस्तीलाई तरङ्गित गर्दै आँशुहरू अनायासै बगिदिन्छ । त्यसैले त कहिलेकाहीँ वसन्तमा पनि शिशिर बनेर उजाडिन्छन् मान्छेहरू ।

कुनै रहस्यमय पीडाले घेर्न थालिसकेको थियो मलाई । त्यही अव्यक्त पीडालाई दमन गर्दागर्दै म भड्किन थालिसकेको थिए । जब म घाउविनाको चोटमा भक्कानिँदै तिमीलाई खोज्दै तिम्रो सहरमा आएको थिए । तिमी पराइसँगै पराइ भएर गइसकेकी थियौ । तिमीविनाको त्यो सहर रित्तो लाग्न थाल्यो । यस्तो लाग्थ्यो कि त्यो सहर हैन, मृत्युको कुनै निर्जन बस्ती होस्, जहाँ पीडामा सबै सुस्ताएका हुन् । पर्खाइमा कतै कसैलाई कुरिरहेका हुन् र शून्यताको भुमरीमा कोही कतै बिलाइरहेका हुन् । आशा अनि आशभित्रको निराशाको त्यो बिस्मातपूर्क खोजीमा म हार्न थालेँ । सोचेँ अब के फरक पर्छ र जब कि जिन्दगी नै हारिसकेको थिएँ ।

थाहा नहोला तिमीलाई याद गर्नेहरू अक्सर रुने गर्छन् त्यो अन्धकार रातसँगै । मुख छोपिदिन्छन् ताकि उसको रोदन कोही कसैको निम्ति हाँसो नबनोस् । तिमी आउने आशामा म जिन्दगी भर पर्खिरहेको हुन्छु । मेरो यात्रा निरर्थक रह्यो भने वा म ति अर्थहीन साँझहरूसँगै अस्ताए भने मलाई माफ गरिदिनू । म तिम्रो यादमा जिन्दगीभर बाँचेर पनि मर्न पुगँे तर तिम्रा यादहरू म मरेर पनि बाँचिरहनेछन्, अनन्त अनन्तसम्म ।

Source:ratopati

Please follow and like us:

admin

leave a comment

Create Account



Log In Your Account